हाम्राे माइती घरको गोर्खा सँस्कृति अनि परम्पराको जगेर्ना गर्ने पहलको अनेकौं पहलहरु मध्ये यसपालीको नेपाली नयाँ बर्ष पहिलो वैशाख सिलीगुडी स्थित रवि रत्न ढुङ्गाना उच्च माध्यमिक विद्यालयमा पालन गर्ने भयो। दुई दिवसीय कार्यक्रम १३ अनि १४ अप्रिलमा मनाइने छ।

अन्जु प्रधान, हाम्रो माइती घर अध्यक्षले एक विज्ञप्ति मार्फत जानकारी दिँदै भने, ” सिलीगुडी जस्तो ठाउँमा विभिन्न जातिहरू बसोवासो गर्छन। त्यो जातिहरू मध्ये गोर्खा जाती पनि एउटा हो। हामी सबै जाति सँग मिलेर बस्छौ। अन्य जातिले आफ्नो संस्कृति अनि परम्परा देखाउन अनेकन कार्यक्रम आयोजना गर्ने गर्दछन्। हामी गोर्खाले पनि हाम्रो संस्कृति अनि परम्परालाई प्रदर्शन गर्ने नेपाली नयाँ बर्ष एउटा ठूलो अवसर हो। यस नयाँ वर्ष भव्यरुपमा पालन गरेर हामी पनि देखाउन चाहन्छौ कि हाम्रो पनि आफ्नै नयाँ वर्ष छ। हाम्राे आफ्नै संस्कृति छ। त्यति मात्र होइन, हाम्रो आफ्नै नानीहरुले पनि जान्नु सकोस कि पहिलो वैशाख नेपाली अथवा गोर्खाको नयाँ वर्ष हो।”
उनले विज्ञप्तिमा अझ भने, “हामी हाम्रो संस्कृतिमा धनी छौं। हामीले हाम्रो संस्कृतिको जगेर्ना गर्नु पर्नेछ। आउने पिडिले हाम्रो संस्कृति भुलेर नजावोस भन्ने हाम्रो विचार छ। त्यसैले सिलीगुडी जस्तो स्थानमा यसपाली पहिलो वैशाख भव्य रूपमा मनाउन गई रहेका छौं।”

कार्यक्रम रवि रत्न ढुङ्गाना उच्च माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना हुनेछ। कार्यक्रमका विशेष आकर्षणमा साइरस खाती, स्माइल दास, विक्रम कालिकोटे, तिन्धारेका कर्माको ब्याण्डको प्रस्तुति, नारी नौमती, सुरक्षा सेन्चुरी अनि प्रतिभा प्रधानका नृत्य रहनेछन्। यसको साथमा विभिन्न गोर्खे जातीय खाद्य पसल, भेषभुषा प्रदर्शन रहनेछ।
हाम्राे माइती घरको सन्देश यही रहेको छ

सँस्कृती बाँचे जाती बाँच्छ
जाती बाँचे तब पो गोर्खा बाँच्छ