सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीकी युवा नेता श्रीमती कोमल चामलिङ मंगलबार दामथाङ क्षेत्रमा चुनाउ प्रचार अभियानमा छँदा सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका कार्यकर्ताहरूले ज्यान लिने प्रयास गर्दै आक्रमण गरेका थिए। श्रीमती कोमल चामलिङ एसडीएफ सहयोद्धाहरूसित आम मतदाताहरूलाई भोटको अपील गर्दै भ्रमणमा रहेका बेला अकस्मात एस के एम कार्यकर्ताहरुले पछिबाट ढुंगा-मुडा गर्दै आक्रमण गरेका थिए। भ्रमण स्थलमा रहेका पुलिसकर्मीहरू समेत गवाही रहेको सो घटनाको एसडीएफ पार्टी घोर निन्दा अनि भर्त्सना गर्दछ। यो मात्र होइन यस्ता अप्रिय घटना एसडीएफ पार्टीका सर्वोच्च नेतासहित अनेक नेताहरूसित विभिन्न समयमा र विभिन्न क्षेत्रहरूमा बारम्बार घटीरहेका छन्‌।
ज्ञातव्य रहोस्‌, सत्ताधारी एसकेएम पार्टीले बाहुबल र धनबलको अत्याधिक दुरुपयोग गर्ने आशंका भएपछि पार्टीले बारम्बार राज्यपाल र प्रशासनका उच्चाधिकारीहरू सम्म उजुरी गरे पनि केही सुनवाई भएन। वर्तमानमा चुनाउ जति नजिक हुँदै जाँदैछ पराजयको आशंका बोकेको सत्तापक्ष अत्याधिक धनबल, बाहुबल र सरकारीतन्त्र समेतको दुरुपयोग गरिरहेको भए तापनि चुनाउ आयोगले कहिँ ठोस न्याय दिएको छैन। आजको हालत र अवस्थामा चुनाउ निस्पक्ष र स्वतन्त्र हुनसक्दैन। हाम्रो पार्टीका उम्मेदवारहरूलाई जनताको घर दैलोमा गई भोटको निम्ति अपील गर्न पटक पटक अवरोध उत्पन्न गरेको हुनाले चुनावको निष्पक्षता माथि प्रश्न खडा हुन्छ। केही दिनअघि मात्र नाम्चीको एउटा सरकारी कार्यालायबाट ठेक्काको काम गरेको उचित सर्वेक्षण नगरी भटाभट हजारौं चेक तयार गरेको र उक्त चेक वितरणमा एक जना सत्तापक्षका प्रत्याशीको परिवारका सदस्य रहेको प्रमाण समेत दिँदा पनि कुनै ठोस कारवाही नहुनुबाट प्रशासन र चुनाउ आयोगको निष्पक्षतामाथि प्रश्न खडा हुन्छ|
यी माथिका सबै घटनाहरू माथि उचित र निष्पक्ष कारवाही नभए एस डी एफ पार्टीले कानुनी कारवाही गर्ने निश्चित गरेको यस प्रेस विज्ञप्ति मार्फत जनाइन्छ भने युवा महिला नेता श्रीमती कोमल चामलिङमाथि भएको आक्रकमणको यथा शीघ्र जाँच गरी दोषीमाथि कारवाही गर्न प्रशासन र चुनाउ आयोगलाई आग्रह गर्दछ|

जी एस रिजाल
प्रवक्ता, एसडीएफ।